इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५३५ दिन अगाडि
इन्जुरी समयमा यमाल र टोरेस चम्किँदा दुई गोलले पछि परेको बार्सिलोनाको कम ब्याक जित

काठमाडौं - स्पेनिस ला लिगाको आइतबार राति भएको खेलमा दुई गोलले पछि परेको बार्सिलोनाले कम ब्याक जित निकालेको छ।

महत्त्वपूर्ण खेलमा शानदार कम ब्याक गर्दै बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ४-२ ले हराएको हो। सो खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई जित दिलाउने क्रममा इन्जुरी समयमा लामिन यमाल र फेरान टोरेसले गोल गरे। जीतपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। एट्लेटिको तेस्रो स्थानमा यथावतै छ। खेलमा २० मिनेट बाँकी रहँदासम्म एट्लेटिको २-० ले अघि थियो। पहिलो हाफको अन्तिम मिनेटमा जुलियन अल्भारेजले म्याड्रिडलाई अग्रता दिलाएका थिए। ७० औँ मिनेटमा अलेक्जेन्डर सोर्लोथले म्याड्रिडका लागि अर्को गोल गरे।

 रोबर्ट लेवान्डोस्कीले ७२ औँ मिनेटमा गोल गरेको सो खेलमा बार्सिलोनाका लागि ७८ औँ मिनेटमा टोरसले बराबरी गोल गरे। बराबरीकै सकिने सम्भावना रहेको खेलमा यमालले बार्सिलोनालाई इन्जुरी समयमा अग्रता दिलाएका थिए।  इन्जुरी समयमा नै टोरेसले अर्को गोल गरे।  स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएका अन्य खेलमा एटलेटिक क्लबले सेभियालाई १-० ले र गेटाफेले ओसासुनालाई २-१ ले हराए। रियल बेटिसले लेगानेसलाई ३-२ ले हरायो। रायो भल्कानो र रियल सोसिडाडबिचको खेलमा २-२ गोलको बराबरी भयो।बार्सिलोना र रियल म्याड्रिड दुवैको ६० अङ्क भए पनि बार्सिलोना पहिलो स्थानमा छ। ५६ अङ्कसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ।