डेनमार्क कोपनहेगनमा सांगीतिक साँझ ‘ओएनएफ फेमिली गेट टुगेदर-2’ सम्पन्न 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०९ दिन अगाडि
डेनमार्क कोपनहेगनमा सांगीतिक साँझ ‘ओएनएफ फेमिली गेट टुगेदर-2’ सम्पन्न 

प्रवासी नेपाली मञ्च (ONF) डेनमार्कको आयोजनामा  “ONF Family Get Together-2” सम्पन्न भएको छ । कार्यक्रम क्रिसमस तथा नयाँ अङ्ग्रेजी नयाँ वर्ष २०२६ को छेको पारेर डेनमार्कको कोपनहेगन स्थित मैया नेपाली किचेनमा सम्पन्न गरिएको हो ।

डेढ सय बढी नेपालीहरूको उपस्थित कार्यक्रममा गायिका भूमिका साहले दर्जन बढी गीतबाट मनोरञ्जन गराएकी थिइन् । यसै गरी कार्यक्रममा डेनमार्कमा बसोबास गर्दै आएका कलाकारहरू  किरण दीप, कृष्ण सुवेदीलगायतले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए।

ONF-डेनमार्कका अध्यक्ष रविन कार्कीको सभापतित्व तथा कार्यक्रमका संयोजकसमेत रहेका उपाध्यक्ष भुवन ध्वज थापाको स्वागत मन्तव्यसहित सुरु भएको मनोरञ्जनात्मक कार्यक्रमलाई संगठनका सचिव रोहित सुबेदीले संचालकको भूमिका निर्वाह गरेका थिए । 

कार्यक्रममा  ONF-डेनमार्कका पूर्व अध्यक्षहरू घनश्याम गौतम, कृष्ण पौडेल, शुसिल घिमिरे, यसैगरी एनआरएनए डेनमार्कका  अध्यक्ष सुरेश पुन, एनआरएनए डेनमार्कका पूर्व अध्यक्ष रविन्द्र खड्का, ईनास ग्लोबलका उपाध्यक्ष राजमान तामाङ, पोर्चुगिज नेपाली समाज डेनमार्कका अध्यक्ष आलोक सुवेदीलगायत डेनमार्कका सामाजिक अगुवाहरूको भव्य उपस्थिति रहेको थियो । 

बिहीबार साँझ 17:00-22:00 बजे सम्पन्न कार्यक्रममा डेनमार्कमा  रहेका नेपालीहरूमा एकतासहितको सहभागिता, आत्मीयता र भाइचारामा बढवा दिनका साथै नयाँवर्षको छेकोमा सम्पन्न कार्यक्रम अझ अर्थपूर्ण र भव्यताका साथ सफल भएको अध्यक्ष कार्कीले बताए ।

प्रवासमा रहेर पनि आपसी सम्बन्ध सुदृढ बनाउँदै नेपाली समुदायबिचको सामूहिक एकतालाई मजबुत बनाउने साझा प्रयासलाई यस कार्यक्रममार्फत अझ प्रस्ट रूपमा उजागर गर्न सकिएको र नेपालीहरूको सहभागितमा पनि अघिल्लो वर्ष भन्दा यसपटक उल्लेख्य भएको कार्यक्रमका व्यवस्थापक मनोज न्यौपानेले बताए । उनले आगामी वर्षहरूमा पनि कार्यक्रमलाई निरन्तरता दिने उद्देश्य आयोजककले लिएको जानकारी दिए।