झस्काइरहने बाल्यकालिन घाउ - ' भिनाजुको मिठो बोली र न्यानो हेरचाह भित्र लुकेको क्रूरता'

  • अनुपमा घिमिरे 
    -अनुपमा घिमिरे 
  • ४३२ दिन अगाडि
झस्काइरहने  बाल्यकालिन  घाउ - ' भिनाजुको मिठो बोली र न्यानो हेरचाह भित्र लुकेको क्रूरता'

यो शीर्षकले झट्ट हेर्दा कथा मेरै हो जस्तो लाग्न सक्छ, तर यो अरू कसैको वास्तविक भोगाई, झस्काइरहन घाउ हो, जुन म लेख्दै छु  - यति मात्र चाहन्छु कि यस्तो पीडा आम महिलाहरूले भोग्नु नपरोस् ।

म पोखरातर्फको यात्रामा थिएँ, बसभरि अपरिचित अनुहारहरूसँगै । ती धेरै यात्रुमध्ये मेरो छेउमा बसेकी एउटी महिलासँग कुराकानी सुरु भयो । आखिर यात्रा लम्बिन्छ भने छेउछाउका मानिसहरूसँग जो पनि बोल्छ । त्यो पनि खास गरी महिला त अझ नबोली को बस्न सक्छन् होला र ?

गफ गर्दै गर्दा बसले नागढुंगा चेक प्वाइन्ट पार गरिसकेको थियो, ती महिला बिस्तारै आफ्ना मनका गाँठोहरू खोल्दै थिइन्। उनका शब्दहरूमा लुकेको पीडा सुन्दै जाँदा म भित्रभित्रै गहिरिँदै गएँ ।

यो कथा पढ्न कम्तीमा ८ देखि १० मिनेट लाग्न सक्छ । के तपाईँ अहिले आफ्ना सबै कामहरूबाट फुर्सदमा हुनुहुन्छ ? यदि हो भने, म उनले जसरी आफ्ना भावनाहरू मसँग बाँडेकी थिइन्, त्यसै गरी यहाँ लेख्दै छु । शब्दहरूमा मात्र होइन, मन र मस्तिष्कले पढ्नुहोस्,  सुन्नुहोस् र महसुस गर्नुहोस् ।

कथा सकिएपछि केही समय आफैँसँग बस्नुहोस्, मनन गर्नुहोस् - यदि कतै तपाईँलाई छुन सक्छ।

महिला - 'दिदी, एउटा कुरा सुनाउनु छ,  हुन त भन्छन् नि, बाल्यकाल निर्दोषताको उपवन हो - रङ्गिन सपनाहरूको संसार, जहाँ हरेक दिन नयाँ उत्साह र आशाले भरिएको हुन्छ । साना–साना सपनाहरू बुनिन्छन् – ठुली हुन्छु, धेरै पढ्छु, आफ्नै खुट्टामा उभिन्छु, केही गरेर परिवारलाई खुसी राख्छु, नाम कमाउँछु, बिहे गर्छु, बच्चा बच्ची हुर्काउँछु । जस्तो–जस्तो सपना मनले कोर्छ, जीवन पनि त्यस्तै रमाइलो होला जस्तो लाग्थ्यो ।

तर, दिदी, के हरेकको बाल्यकाल यस्तै रङ्गिन हुन्छ त ? केही अनुभव यस्ता हुन्छन्, जुन जीवनभर सम्झिँदा आत्मा नै भत्किन्छ ।  मेरा त ती साना–साना दिनहरू पनि रङ्गिन थिएनन्, त्यो निर्दोषताको उपवन होइन, डर र पीडाले रङ्गिएको एउटा कालो र चिसो छाया थियो ।

सायद म ५ कक्षामा पढ्दै थिएँ, त्यो उमेर, त्यो बालापनको संसार सरल र सुरक्षित लाग्नुपर्ने हो, हैन र ? तर, मेरो सानो संसार कागज जस्तै पातलो र नाजुक बन्दै थियो । जस्तो कोही निर्दोष हातले छोए पनि च्यातिन सक्ने गरी कमजोर । 

ती दिनका यादहरूले आज पनि मन भक्कानिन्छ भित्रभित्रै, वर्तमानमा पनि छाती चिरिएको आभास हुन्छ  ।

ती दिनका यादहरूले आज पनि मन भक्कानिन्छ भित्रभित्रै, वर्तमानमा पनि छाती चिरिएको आभास हुन्छ  ।

कतिपल्ट त म आफैँसँग प्रश्न गर्छु, ‘किन म?’

म हिँड्दा, घर फर्किँदा, निदाउन खोज्दा, प्रत्येक क्षण यो प्रश्नले पछ्याउँछ, ‘किन म त्यति पीडित भएँ?’

तर, उत्तर दिने मान्छे को छ र यहाँ ?

सन्नाटा मात्रै छ, जसले मेरो पीडाको प्रतिध्वनि फिर्ता गर्छ ।

हाम्रो घरको आर्थिक अवस्था अलि नाजुक थियो । आफ्नै दिदी पर्नेले भन्नुभयो, ‘पोखरामा हाम्रै घरमा बस, म पढाउँछु ।’ उहाँ आफैँले मेरो घरमा कुरा गर्नुभयो, अनि म आशा र भरोसाको भारी बोकेर पोखरा लागेँ । उहाँकै घरमा बसेँ, जीवनका साना ठुला सबै कुरा उहाँकै भरमा चल्थ्यो । खाना, लत्ता, किताब, र केही खर्चका लागि पैसासम्म । त्यसैले, जे भन्यो, सबै मान्नै पर्‍यो है न त ? मान्दै गएँ । 

तर समयसँगै मैले बिस्तारै बुझ्न थालेँ कि त्यही घरको कुनै व्यक्तिले मेरो असहायपनको फाइदा उठाउँदै ममाथि निरन्तर अन्याय गरिरहेको थियो । जबसम्म म यो कुरामा पूर्ण रूपमा सचेत भएँ, तबसम्म म भित्रभित्रै यति चिसो, यति धेरै पीडित भइसकेकी रहेछु कि बोल्न सक्ने हिम्मत पनि हराइसकेको थियो ।

हाम्रो आफ्नै घरको आँगनभित्र लुकेको एउटा शत्रु, जसलाई म आफ्नो मान्नुपर्ने थियो, उसले मेरो निर्दोषतामाथि क्रमशः निर्मम प्रहार गरिरहेको थियो । नाताको नाममा भरोसाको मुखौटा लगाएको भिनाजुले ‘साली नानी’को मिठा शब्दको आडमा मलाई अनेक बहानामा नजिक ल्याउँथ्यो । उसको स्पर्शले मेरो सानो शरीर झस्काउँथ्यो, तर त्यो स्पर्शको अर्थ म बुझ्न सक्दिनथेँ ।

मैले सोच्थेँ - सायद म नै गलत छु, किनकि ऊ त मलाई माया गरिरहेको मात्र हो नि, हैन र? तर त्यो माया पीडाको परिभाषा बनिरहेको रहेछ । म आफ्नो डरलाई ‘छिमेकीको सानो कुरा’ जस्तो सम्झेर भित्रभित्रै कुहिन बाध्य भएँ । न्यानो हेरचाहको नाटकभित्र लुकेको क्रूरता मैले ढिलो गरी मात्र चिनेँ । र, हरेक चोटसँगै म आफैँमाथि कठोर बन्दै गएँ, आफैँलाई दोषी ठान्दै चुपचाप सहन बाध्य भएँ ।

म केही वर्ष त्यस घरमा बसेँ, जहाँ म आफ्नो अस्तित्व, आत्मविश्वास, र महत्त्व सबै गुमाउँदै गएँ । यसरी गुमाएँ कि कहिल्यै फर्केर हेर्न सकिनँ । उसका कठोर हातहरू मेरो नितम्ब, छाती, र अनगिन्ती संवेदनशील ठाउँहरूमा पुगे, जति भुल्न खोजे पनि त्यो पीडाको तीतो छाया अझै मेरो शरीर र आत्मामा गढेर बसेको छ । उसका बलिया हातहरूको क्रूरता अझै म महसुस गर्छु, त्यो डर अझै कतै गहिरो कुनामा लुकेको छ ।

पढाइ, खेलकुद, साथीहरूको हाँसो, सबै मसँग टाढिँदै गए । म विद्यालयको खाली कोठामा आफ्नै छायासँग कुरा गर्थेँ, डरले गहिरो पीडामा डुबेर आफैँलाई सोध्थेँ, ‘के गल्ती मबाट नै भयो त?’ तर उत्तर कहिल्यै फिर्ता आएन । बुबाको रक्सीको गन्धले मन झनै गिज्याउँथ्यो, आमाको मौनताले मेरो घाउहरूमा नुन छर्किन्थ्यो ।

भित्रभित्रै म एक अदृश्य युद्ध लडिरहेको थिएँ, जुन कुनै बाहिरी शत्रुसँग होइन, म आफैँसँग थियो । आत्मग्लानि र पीडाको चक्रभित्र म अल्झिँदै गएँ, मन भाँचियो, भाँडियो । के गरौँ ? कसो गरौँ ? भन्ने प्रश्नहरूले मेरो अन्तर्मनलाई निरन्तर रेटिरह्यो । म एक्लो थिएँ, तर त्यो एक्लोपनभित्रै हजारौँ चिच्याहटहरू गुन्जिरहेथे । देखाउन नमिल्ने गरी छचल्किएका आँसु र बगेका आँसुका धाराको त म वर्णन गर्न सक्दिनँ ।

रात मेरो लागि शान्ति होइन, डरको समय थियो । एक रात, निद्राको गहिराइमा मैले महसुस गरेँ, कसैले मेरो छातीमा च्यापिरहेको छ । म चिच्याएँ, ‘म मर्छु‘, तर त्यो आवाज सुन्ने कोही थिएन, न त बुझ्ने नै । मेरो डर अब केवल अँध्यारोमा सीमित रहेन, यो मेरो साससम्म फैलियो । म मौनतामै चर्किएँ । आवाजको सट्टा आँसुहरूको भेल बग्यो ।

मेरो पीडालाई परिवारले ‘बाल सुलभ डर’ भनेर बेवास्ता गर्‍यो ।  परिवारले   झाँक्री, तान्त्रिक, औषधि, सबै उपाय गरे तर कुनै काम लागेन । अन्ततः एक मनोचिकित्सकले भने, यो मानसिक आघात हो । तर समाजले मलाई ‘पागल’ को दर्जा दियो । छिमेकीको गिज्याइ, नातेदारको उपेक्षा, यी सबैले मेरो मनलाई अझै गहिरो अन्धकारमा पुर्‍यायो ।

मेरो पीडालाई परिवारले ‘बाल सुलभ डर’ भनेर बेवास्ता गर्‍यो ।  परिवारले   झाँक्री, तान्त्रिक, औषधि, सबै उपाय गरे तर कुनै काम लागेन । अन्ततः एक मनोचिकित्सकले भने, यो मानसिक आघात हो । तर समाजले मलाई ‘पागल’ को दर्जा दियो । छिमेकीको गिज्याइ, नातेदारको उपेक्षा, यी सबैले मेरो मनलाई अझै गहिरो अन्धकारमा पुर्‍यायो ।

यी सबै अन्धकारबिच, आमा मेरो लागि एउटा आशाको दियो थिइन् । उनको ममता मेरो लागि एउटा सुरक्षा कवचजस्तै बन्यो । एक दिन आमाले भन्नुभयो, ‘छोरी तिमी धेरै बलियो छौ, किन यति साह्रो चिन्तित, तनावमा छ्यौ ? म छु त छोरीका लागि माया गर्ने आमा ।’

ती शब्दहरूले मेरो टुक्रिएको मनलाई फेरि जोड्न मद्दत गरे । एक दिन आमाले फेरी भन्नुभयो,‘छोरा मान्छे जस्तो हुन्न हाम्रो जीवन छोरी । यहाँ पटक–पटक लडेर उठ्नुपर्छ कहिल्यै हार नमान है ।

समयसँगै म गाउँबाट टाढा, नयाँ सहरमा पुगेँ । तर मैले बुझेँ, मुक्ति भनेको भौगोलिक दूरी होइन,  यो आफ्नै पीडालाई स्विकार्ने साहस हो । आज पनि कहिलेकाहीँ त्यो सानो बच्चा मेरो भित्र रुन्छ, तर म उसलाई चुपचाप सम्झाउँछु— ‘तिमी एक्लो छैनौ।’

अनुपमा दिदी, हजुर किन रुनुभयो ? हजुर रोएर बस्नुभयो भने म बोल्न सक्दिनँ नि ।  हैन, हुन त हो , उनी आफैँ आफ्ना आँसु पुछ्दै, पीडाको भार बोक्दै बोलिरहेकी थिइन् । म त साहसी भएर सुन्नुपर्ने ? म आँसु पुछेँ र फेरि मन थामेर सुन्न थालेँ । उनी फेरि बोल्न थालिन्, स्वरमा हल्का कम्पन थियो तर साहस अझै बाँकी थियो ।

‘दिदी, म पछि मात्र थाहा पाएँ, त्यो सबै ह्यारेसमेन्ट रहेछ । हामी चेलीहरू कति धेरै सानै उमेरदेखि पुरुषहरूको दुर्व्यवहारको सिकार हुन्छौँ है । अलिकति पहिले त ‘नैतिक शिक्षा’ भन्ने विषय पनि पढाइन्थ्यो रे, तर अहिले त त्यो पनि छैन । सायद सानैदेखि यस्ता संवेदनशील विषयहरूमा पढ्न, बुझ्न र छलफल गर्न पाइन्थ्यो भने के सही र के गलत छुट्टाउन सक्थ्यौँ होला । आफैँलाई जोगाउन पनि सक्थ्यौँ होला ।’

उनको गन्तव्य आइपुग्यो । नागढुंगामा गाडी रोकिन्थ्यो, उनी बिस्तारै ओर्लिइन् । तर, मैले केही भन्न सकिनँ । न त उनको नम्बर माग्न सकेँ, न त ठेगाना । नाम थाहा छ, तर सामाजिक सञ्जालहरूमा खोज्दा कतै भेटिएको छैन । यो कथा कतैबाट पढ्यौ भने यत्ति भन्छु, – ‘बैनी, तिम्रो याद आइरहेको छ, सम्पर्क गर न है ।’

एउटा कुरा म दृढ भएर यहाँ लेख्न सक्छु, उनी भोगेको कथा मात्र उनको व्यक्तिगत पीडा होइन, यो त हजारौँ आम चेलीहरूको साझा बाल्यकालको घाउ हो, जुन अझैसम्म समाजको मौनताले लुकाइरहेको छ । यो कथा लेख्दा मेरा आँसुहरू पनि कलमसँगै बगिरहेका छन् ।  तर म बुझ्छु, यो कथा केवल यी बैनीको मात्र होइन । यो तिनीहरूको पनि कथा हो, जसले आफ्ना पीडा लुकाएर बाँचिरहेका छन्। मेरा शब्दहरू उनीहरूका लागि एउटा सानो झ्याल बनुन्, जहाँबाट आशाको उज्यालो छिर्न सकोस् । 

यदि तपाईँले पनि यस्तै कुनै समस्या भोग्नु भएको छ भने, कृपया मौन नबस्नुहोस्। आवाज उठाउनुहोस्, किनकि पीडा लुकाएर राख्नु समाधान होइन। तपाईँको आवाज अरूका लागि पनि प्रेरणा बन्न सक्छ ।