देशभर अवैध लागू औषधको जालो,  १५ जना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६७६ दिन अगाडि
देशभर अवैध लागू औषधको जालो,  १५ जना पक्राउ

काठमाडौँ -प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित १५ जनालाई पक्राउ गरेको छ ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा १ किलो ८ सय ग्रामसहित धादिङ गल्छी गाउँपालिका–४ बस्ने ४६ वर्षीय मुकुन्द खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको ना.४ ख ५७३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३१ मिलिग्रामसहित स्कुटर चालक सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने २७ वर्षीय राज श्रेष्ठ र स्कुटरमा सवार सोही उपमहानगरपालिका–१ बस्ने ३६ वर्षीय सुनिल कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५४ प ७४८९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलाली, गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय हेमन्त कार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको प्रहरीले पैदलयात्री उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कपिलवस्तु, कपिलवस्तु नगरपालिका–९ हरनामपुरस्थित सडकबाट अवैध लागू औषध खैरो रङको लागू औषध जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

यसैगरी कपिलवस्तु, बुद्धभूमि नगरपालिका–२ बड्रहरास्थित सडकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्रामसहित वाणगङ्गा नगरपालिका–८ बस्ने ३४ वर्षीय केशव बलाल समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले लु.९६ प ६३२६ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका–१८ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानघोपास्थित सडकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित सोही उपमहानगरपालिका बस्ने ४१ वर्षीय सुरज थापा मगर र सोही उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय संजिव राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मकवानपुर, मनहरी गाउँपालिका–७ मनहरी खोला बगरस्थित सडकबाट अवैध लागू औषध गाँजा २ किलो ७ सय ग्रामसहित पैदलयात्री बारा जितपुर सिमरा उपमहानगरपालिका–८ रमौली बस्ने ४२ वर्षीय नागेन्द्र महत्तोलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पैदलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुर्खेत, विरेन्द्रनगर नगरपालिका–११ झूप्राखोलास्थित सडकबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित लेकवेशी नगरपालिका–१० बस्ने २७ वर्षीय अर्जुन जंग शाहीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता, पर्सा, वीरगंज महानगरपालिका–१६ त्रिशुलचोकस्थित सडकबाट अवैध लागू औषध खैरोहेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्राम ७ सय ४० मिलिग्रामसहित फेटा गाउँपालिका–७ बस्ने २० वर्षीय अजय कुमार बैठा समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी बसपार्क र लागू औषध नियन्त्रण ब्युरो वीरगंजबाट खटिएको प्रहरीले बिआर ०५ एवाई ७२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  ।

 कैलाली, टीकापुर नगरपालिका–१ बल्क नम्बर १८ बस्ने १८ वर्षीय किशोरलाई अवैधलागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्रामसहित उनकै कोठाबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।