काठमाडौ -पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा एकै सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान राखेका छन् ।
साउदी प्रो लिगको अल नासेरमा आबद्ध रोनाल्डोले सन् ०२३/२४ मा ३५ गोल गरी नयाँ रेकर्ड राखेका हुन् । उनले सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् । उनले अल नासेरका अब्देरराजक हमदल्लाहको कीर्तिमान तोडेका हुन् । अब्देर राजकले सन् २०१८–१९ को सिजनमा ३४ गोलको रेकर्ड राखेका थिए ।
प्रो लिगअन्तर्गत सोमबार राति अल इत्तिहादलाई ४–२ ले हराएको खेलमा रोनाल्डोले दुई गोल गर्दै सर्वाधिक गोलकर्तामा नयाँ रेकर्ड स्थापित गरेका हुन् । उनले यो सिजन लिगमा ३१ खेलमा ३५ गोल गर्नुका साथै ११ असिस्ट प्रदान गरेका छन् । समग्रमा रोनाल्डोले यस सिजनमा ५० खेलमा ५० गोल गरे । स्पोर्टिङबाट व्यावसायिक फुटबल करिअर सुरु गरेका रोनाल्डो विश्वकै चर्चितबाट खेलेका छन् ।
उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल म्याड्रिड सिरिए युभेन्टसबाट खेले । सन् २०२१ को सिजनमा उनी पुनः युनाइटेडमा आबद्ध भए । जनवरी २०२३ मा रोनाल्डोले युनाइटेड छाड्दै अल नासेरमा आबद्ध भएका थिए । रोनाल्डोले रियल म्याड्रिडबाट युरोपियन च्याम्पियन्स लिग तथा बालेन डिअर उपाधि पाँच पटक जितेका थिए ।
यस सिजन रोनाल्डोको व्यक्तिगत प्रदर्शन उच्च रहे पनि नासेरले कुनै पनि उपाधि जित्न सकेन । अल नासेर साउदी प्रो लिगमा उपविजेता बन्यो । यसैगरी, साउदी कपमा सेमिफाइनलबाट बाहिरिएको अल नासेर एसियन च्याम्पियन्स लिगमा क्वार्टर फाइनलसम्म पुग्यो ।