लुम्बिनीमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मास्कीलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६७ दिन अगाडि
लुम्बिनीमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मास्कीलाई

 काठमाडाै‌ -लुम्बिनी प्रदेशको आर्थिक मामिलामन्त्री धनबहादुर मास्की भएका छन्। मुख्यमन्त्री डिल्ली चौधरीले मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। 

मास्की यसअघि विनाविभागीय मन्त्री थिए। बजेटको तयारी गर्नुपर्ने भएकाले मास्कीलाई सोमबार आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।  १४ वैशाखमा कांग्रेस, माओवादी केन्द्रसहित आठ दलको समर्थनमा चौधरी मुख्यन्त्री भएसँगै तीनजना मन्त्री थपेका थिए । तर, तीनैजनालाई जिम्मेवारी तोकिएको थिएन। सोमबार मात्रै मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको हो, भने अन्य मन्त्री दुईजना मन्त्रीको अझै पनि जिम्मेवारी तोकिएको छैन।

मास्की माओवादी केन्द्रबाट दाङ ३ (२) बाट निर्वाचित हुन् । मास्कीले आजै कार्यभार सम्हाल्नेछन्। मन्त्री थप गर्ने तथा भागबन्डाको विषयमा बुधबार मात्रै टुंगो लगाउने गरी तयारी गरिएको छ। मुख्यमन्त्रीले १८ वैशाखमा विश्वासको मत लिएका थिए । कांग्रेस, माओवादी केन्द्रसहित विभिन्न आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन्। लुम्बिनीमा १० वटा मन्त्रालय मात्रै छन्।  गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसद छन्। त्यस्तै विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सांसद छन्।