आरती पौडेल-
आज हजार सपना बोकि भोली पक्कै फर्किने बाचा गर्दै यात्रामा निस्किएकाहरू
कहिलै नफर्किने गरि अस्ताएको देख्छु ।
जिन्दगीको यात्रा कहाँ, कति बेला कुन मोडमा सकिन्छ
न कसैले देख्छ न मैले नै देख्छु ।।
जब त्यो दृश्य देख्छु, बडो गाह्रौं गरि लामो स्वास फेर्छु
यहाँ त मृत शरीरमाथि पनि मजाक बनाएको देख्छु ।
अनि धिक्कार्छु, खै कहाँ हरायो मानवता ?
जब तछाड मछाड गर्दै निर्दयीहरू लासहरूकै दृष्यमा खेलेको देख्छु ।
त्यो हुल, जहाँ आफ्ना गुमाउनुको पीडामा कोहि बेहोस देख्छु
कहिल्यै नर्फकने गरि छुटेका प्रियजनको विछोडमा
भाव विह्वल आँखाहरू देख्छु ।
जहाँ, लमतन्न लडेका मुर्दामाथि खेल्न हतारिएका सञ्जालका हाउगुजीहरू देख्छु ।
तस्विर खिच्न र पोस्टाउन भ्याइनभ्याइ देख्छु ।।
कसैको मृत्युमा श्रद्धाञ्जली लेखी केक काटेको देख्छु
यहाँ मानवता दुःख मा साथ दिन होइन
सञ्जालमा आउने लाइक र कमेन्टमाथि रमाउने रमिते समाज देख्छु ।।
घाटमा म जल्दै गरेको चिता मात्र देख्दिनँ
उड्दै गरेको धँुवा मात्र पनि देख्दिनँ ।
म त चितासँगै जलेको मानवता पनि देख्छु,
धुवासँगै उड्दै गरेको कुरुप मनुष्यत्व देख्छु ।।
आज अन्जानमै तिमिसँग परिचय गर्ने कुकुर
भोलि फेरि भेट्दा आफ्नै सम्झी तिमीलाई पछ्याएको देख्छु ।
तर, यहाँ त म
सम्पत्तिका लागि भाइ–भाइ बीच रगत बगाइरहेको देख्छु ।।
जब आफूलाई पाल्ने मालिक घर नफर्कदासम्म
त्यो काली कुकुर वर्षौसम्म हस्पिटल बाहिर कुरेको देख्छु
अनि लाग्छ साच्चिकै मानिसलाई उसले मानवता सिकाइरहेको देख्छु।।
अब त आफ्नालाई बिश्वास गर्न पनि आफ्नै मन डराउँन थालेको छ
ऊ मेरो आफ्नै हो है भनी खै कसलाई बिश्वास गरौं ल भन त?
जब आफ्नै मामाले भान्जालाई मन्दिरमा लगि बलि चढाएको देख्छ ।।
कति बेला, कसरी, के कारणले जिन्दगी सकिन्छ थाहा छैन
तर पनि दम्भ, अहंकार घमण्डले सु–सज्जितहरूको जमात देख्छु
हावाले भरिएको बेलुन उडेसरी
घमण्ड ले भरीएर उड्नेहरूको जमात देख्छु ।।