‘प्रमोद खरेल एण्ड परम्परा’ ५ अस्ट्रेलियाली सहरमा गुञ्जिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३९२ दिन अगाडि
‘प्रमोद खरेल एण्ड परम्परा’ ५ अस्ट्रेलियाली सहरमा गुञ्जिने

काठमाडौं - गायक प्रमोद खरेल आफ्नो ब्याण्ड ‘परम्परा’सहित अस्ट्रेलियाको सांगीतिक टूरमा निस्किने भएका छन् । २२ अगस्टदेखि १४ सेप्टेम्बरसम्म ब्याण्डले पाँच अस्ट्रेलियाली सहरमा आयोजना हुने ‘लाइभ इन अस्ट्रेलिया’मा प्रस्तुति दिँदैछ । सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा ब्याण्ड गुञ्जिन लागेको हो । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रमलाई लिएर खरेल उत्साहित सुनिए ।

‘अर्को साताको अस्ट्रेलिया टुरका लागी अहिले तयारी गरिरहेका छौं ।  त्यहाँका दर्शकलाई मनोरञ्जनको लागि तयार रहन आग्रह गर्दछौं’ उनले भने, ‘ब्याण्डसहितको पहिलो सांगीतिक टूर भएकाले पनि हामी उत्साहित छौं ।’ अस्ट्रेलिया टूरअघि ब्याण्डले आउँदो मंगलबार नयाँ गीत ‘केमा बस्यो दिल’ सार्वजनिक गर्दैछ । अहिले ब्याण्डको प्रमुख गायकमा प्रमोद, लिड गिटारिस्टमा देवासिस तामाङ, बेस गिटारिस्टमा कुशल थापा, बाँसुरीमा सञ्जीव मैनाली, ड्रममा भूपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल छन् । ब्याण्डले आगामी जुन र जुलाईमा अमेरिका टूर गर्दैछ ।