काठमाडाैँ -गायक तथा अभिनेता प्रकाश सपुतले तीजको अवसरमा नयाँ गीत सार्वजनिक गर्ने भएका छन्। उनले पछिल्लो पुस्ताका दुई चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानसँगको सहकार्यमा 'बदला बरिलै २' ल्याउन लागेका हुन्। यो गीतको शीर्षक 'नाइँ भनेसि नाइँ' राखेका छन्। छायांकन सकिएको यो गीत केही दिनमै सार्वजनिक गर्ने तयारी प्रकाशको छ।
उनले उक्त गीतमार्फत एउटा आवाज लिएर आउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथमा प्रकाशले एक विम्बात्मक पोस्टर समेत सार्वजनिक गरेका छन्। प्रकाशले ४ वर्षअघि 'बदला बरिलै' ल्याएका थिए, जसलाई स्रोता तथा दर्शकहरूले रूचाएका थिए। देवी घर्तीको स्वरमा रहेको उक्त गीतमा प्रकाशले बलात्कारको घटनाविरुद्धको आवाज पेश गरेका थिए । 'बदला बरिलै २' मा पनि उनले महिला हिंसाविरुद्धको कथा उठाएको आँकलन गर्न सकिन्छ। फिल्ममा व्यस्त बनेपछि सांगीतिक क्षेत्रमा सुस्ताएका प्रकाशले धेरैपछि नयाँ गीत ल्याउन लागेका हुन्।