काठमाडौँ - नेपालमा पहिलो पटक हरर, काल्पनिक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए ।
उनका अनुसार, नेपालमा यी विधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता विद्याका चलचित्रहरूलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो । नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (नीफ)को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उद्देश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवर्द्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र यूथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरूको लागि आवेदन पनि खुल्ला गरिएको पाठकको भनाई छ ।