काठमाडौं - गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको फिल्म ‘मालती मंगले’को शीर्ष भूमिकामा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन् ।
शुक्रबार बराल र राउतसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रानी म्युजिक इन्टरनेसनल प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन् । पटकथा तथा संवाद संयोग गुरागाईँले लेखेका हुन् । कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने छायाङ्कन निर्देशकमा महेश पौडेल छन् । रोमी तण्डुकारको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, राजेन्द्र थापाको गीत रचना र राजनराज सिवाकोटीको सङ्गीत निर्देशन हुनेछ । निर्देशक पाण्डेयका अनुसार यो फिल्म पारिवारिक प्रेमकथामा आधारित हुनेछ ।
यो फिल्मको लागि विजय र वर्षाले राउतले ३ महिना अन्य फिल्म नगर्ने भएका छन् । चरित्र निर्माणको लागि उनीहरूले यो अवधि व्यतित गर्ने जनाइएको छ ।भदौको पहिलो सातादेखि ४० दिनको तालिकासहित छायांकन सुरु हुने कार्यकारी निर्माता ज्ञवालीले बताए । २०८२ सालको अन्त्यतिर फिल्मको प्रदर्शन हुने जनाइएको छ ४ हजारभन्दा धेरै गीतमा स्वर दिएका गायक ढकालले पहिलोपटक यो फिल्म निर्माण गर्न लागेका हुन् । २०५८ सालमा प्रदर्शन भएको फिल्म ‘आशीर्वाद’मा उनले अभिनय गरेका थिए ।