काठमाडौं - चलचित्र ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । बिहीबार प्रदर्शनको ५१ औँ दिन पुरा गरेको अवसरमा आयोजित विशेष समारोहमा खुसीयाली मनाउँदै निर्माण टिमले यसको दोस्रो भाग बनाउने घोषणा गरेको हो ।
यो उपलब्धि हासिल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै निर्देशक चौलागाईँले यो सफलतामा आफू निकै उत्साहित रहेको समेत स्पष्ट पारिन । ‘अबको फिल्ममा कमि–कमजोरीलाई सच्याउँदै आगामी दिनमा झन् राम्रो फिल्म दर्शकलाई दिनेछ, निर्देशक चौलागाईँले भनिन्– ‘यो फिल्ममा भएका गल्ती अर्को फिल्ममा सुधार्दै अझै बुलन्द काम गर्नेछु।’केहि दिनअघि जापानमा समेत बेष्ट निर्देशकको अवार्ड यसै फिल्मबाट हात पारेकी कृषाको पहिलो निर्देशकीय फिल्म ‘ऐँचो पैँचो’ हो । जुन समिक्षात्मक रुपमा सफल देखिन्थ्यो । गत चैत २९ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ जेठ २२ गते बिहीवार प्रदर्शनको ५१औँ दिन पूरा गरेको खुशीयालीमा विशेष समारोह आयोजना गरेको थियो ।
कृषा चौलागाईँद्वारा निर्देशित यो फिल्मले रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बिएसआर तथा बीग मुभिजमा ५१ दिन मनाएको हो । निर्माण पक्षले फिल्मको ५१औं दिन मनाउने क्रममा ‘पिताम्बर–२’ समेत घोषणा गरेको छ ।बिहीवार निर्माण पक्षले रञ्जना सिनेमा हलमा आयोजना गरेको समारोहमा ‘पिताम्बर’ का कलाकार तथा प्राविधिकलाई सम्मान गरेको छ । पत्रकारहरुलाई समेत यो खुशीयालीमा सम्मान–पत्र प्रदान गर्दै सोही समारोहमा फिल्मको सिक्वेल निर्माण गरिने घोषणा गरिएको छ ।कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । यो फिल्ममा प्रदीप खड्का सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित,विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको पनि अभिनय छ।