काठमाडौं - अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले उनको डेब्यु चलचित्र ‘एक्लो’को पोस्टर सगरमाथाको चुचुरोमा फहराएकी छिन् ।
८ हजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेकी डेब्यु नायिका नेपालीले एक्लो’को पोस्टर सगरमाथाको चुचुरोमा फहराइरहेको भिडियो चलचित्रका निर्देशकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
निर्देशक प्रदीप शाहीले चलचित्रकी एक सदस्य जसले २४ घण्टा भित्र ८८४८ मिटरको सगरमाथा र ८५१६ मिटरको ल्होत्से हिमाल चढेर गौरवपूर्ण काम गरेकोमा अाफूलाइ खुसी लागेको बताउदै कवितालाई बधाई ज्ञापन गरेका छन् ।
केहिदिन अघि कान्स फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र आफूले सहभागीता जनाएर नेपाली फिल्म उध्योगलाई विश्व बजारमा चिनाउने प्रयास गरेको विषयलाई स्मरण गरेका छन् । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गरेको हो ।
साइन्स फिक्सन’ सिनेमा ‘एक्लो‘ मा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली , त्रीचु राई , कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।
फिल्म ‘एक्लो’ का निर्माता राज कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । कृष्ण पौडेल प्रोडक्सन डिजाइनर रहेको सिनेमाको छिट्टै नेपाल र विदेश प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी दिएको छ।