आज शनिबार पनि निरन्तर झरी, सतर्क रहन आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६१६ दिन अगाडि
आज शनिबार पनि निरन्तर झरी, सतर्क रहन आग्रह

काठमाडौं - आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । 

केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।


नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।


नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पर्दासम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ ।

अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ । त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।