काठमाडौ -लगातारजसो घटिरहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन पनि ओरालो लागेको छ।
आइतबार नेप्से ५०.७३ अंकले घटेर दुई हजार ६ सय ३७।७९ विन्दुमा झरेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.६४ प्रतिशतले घटेको छ। आज ३२४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ। यद्यपि, कारोबार रकम अघिल्लो दिन करिब आठ अर्बको तुलनामा आज केही बढेको हो।
आज नेप्सेका १३ वटै उपसमूहको सूचक राताम्य भएको छ। फाइनान्स र होटेल तथा पर्यटन उपसमूह सर्वाधिक ३ प्रतिशतभन्दा धेरैले घट्दा विकास बैंक, लगानी, जीवन बिमा, निर्जीवन बिमा र अन्य उपसमूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन् । २५ वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको दिन आज चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जी र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी, २१७ कम्पनीको मूल्य घट्दा थ्री स्टार हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ। ग्रिनलाइफ हाइड्रो र सिइडिबी हाइड्रोपावर विकास कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै गुमाएका छन्।