स्वामी ध्यान आशिष
मानव जीवनमा अज्ञानरूपी अन्धकारलाई हटाई ज्ञानरूपी प्रकाश प्रदान गर्ने व्यक्तिलाई गुरु भनिन्छ । ‘गु’को अर्थ हुन्छ अन्धकार (अज्ञान)एवं ‘रु’को अर्थ हुन्छ प्रकाश(ज्ञान)अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फ लिएर गई जीवनको मार्गदर्शन गर्ने व्यक्तिलाई गुरु भनिन्छ । मानव जीवनमा गुरुको महिमा अपरम्पार रहेको छ ।
गुरु ब्रह्मा, गुरु विष्णु , गुरु दबो महेश्वर ।
गुरु साक्षात् परब्रम्हातस्मै श्री गुरुवे नमः ।।
अर्थात् यो सृष्टिका रचनाकार (ब्रह्मा) पनि गुरु, सञ्चालनकर्ता (विष्णु) पनि गुरु, संहारकर्ता (महेश्वर)पनि गुरु नै हुन् । गुरु नै त्यो परमतत्व हुन् जसबाट यो चराचर जगत् सञ्चालित छ । त्यस्ता सद्गुरुदेवलाई मेरो सादर प्रणाम छ ।
‘अज्ञान तिमिरान्धश्च ज्ञानांजन शलाकया, चक्षुन्मिलितम् तस्मै श्री गुरु बै नमः’ अर्थात् जसले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारमा अन्धा भएका व्यक्तिहरुको आखा खोल्दछन, ति सब गुरुलाई सादर प्रणाम छ । सनातन हिन्दु धर्ममा गुरुलाई भगवान् भन्दा पनि माथिको दर्जा दिइएको छ । भनिन्छ असल गुरुको प्राप्ति अथवा छनोट अधिकांश समस्या र दुबिधाहरूको निरोध हो । तथापि आधुनिक युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । २०औँ शताब्दीका महान् गुरु ओशो भन्नुहुन्छ, गुरु पूर्वीय चेतनाको खोज हो । पश्चिमी भाषामा गुरु जस्तो कुनै शब्द छैन । गुरु त त्यही व्यक्ति हुनसक्छ जसमा गुरुता उपलब्ध भएको होस् । जसमा अन्तिम महिमा उपलब्ध भएको होस् । जसले परिसत्य जानेको छ त्यही गुरु हुन सक्छ । ओशोको दृष्टिमा गुरु त्यो हो जसमा अन्तिम घटना घटेको छ । अनि जो समाधिष्ठ भएको छ । जो परमात्मासँग एक भएको छ ।
गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्बकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पूर्णिमालाई गुरु पूर्णिमा वा ब्यास पूर्णिमा भनिन्छ । आषाढ महिनाको पूर्णिमामा ब्यास ऋषिको जन्म दिन समेत भएकाले यसलाई गुरु पूर्णिमा वा ब्यास पूर्णिमा भनिएको हो । भगवान् गौतम बुद्धले पनि बुद्धत्व प्राप्त गरेपछि असार पूर्णिमाको दिनमा पहिलो पटक सारनाथमा पञ्चभद्रलाई उपदेश दिएका थिए । भनिन्छ त्यसै दिन बुद्धले पञ्चभद्रलाई दीक्षा दिएका थिए ।
पूर्णिमा भन्नाले पूर्णचन्द्र अर्थात् कुनै पनि कर्मको पूर्णताको अवस्था भनेर बुझिन्छ । त्यसैले गुरु पूर्णिमालाई मानव प्राणीमा भएको अन्धकारको अन्त्य भई ज्ञान प्राप्त गर्ने कामको पूर्णता भएको दिनको उत्सवको रूपमा पनि यसलाई मनाउने गरिन्छ । आषाढ शुल्क पक्षको पूर्णिमामा आफूलाई शिक्षा, दीक्षा एवम् मोक्षको बाटो प्रदान गर्ने गुरुहरूप्रति श्रद्धा प्रकट गर्दै अनि गुरुको महिमा गाउँदै उत्सव मनाउने गरिन्छ । गुरु पूर्णिमाको निकै पुरानो इतिहास र महत्त्व हिन्दु सनातन धर्म संस्कृतिमा छ । प्रसिद्ध हिन्दु शास्त्र वेदहरूको सङ्कलन, संवर्द्धन र महाभारतको रचना गरेका महान् महर्षि श्री कृष्णद्वैपायन अर्थात् बेद्ब्यासजी आषाढ शुल्क पक्षको पूर्णिमामा जन्मेका थिए । उनले हिन्दु सनातन धर्म अन्तर्गत छरिएर रहेका शास्त्रहरूलाई आफ्नो ध्यान, साधना र तपो बलले एकत्रित र रचना गरी मनुष्यतालाई ठुलो योगदान दिएका छन् ।
गुरु शिष्य परम्परा पूर्वीय दर्शनको एक अमूल्य सम्पदा हो । शिष्यले सद्गुरु भेट्टाउनु जीवनको महत्त्वपूर्ण उपलब्धि हो । अध्यात्ममा जसलाई जाग्नु छ उसले बहुत सावधान भएर मार्गदर्शक छान्नु पर्दछ । महान् गुरु ओशोको भनाई अनुसार बहुत होसपूर्वक जीवनमा अघि बढियो भने अनि बहुत बिचारपूर्वक कदम राखियो भने सायद सद्गुरुसँग मिलन हुनसक्छ । गुरुलाई त्यसले नै खोज्न सक्छ जसभित्र प्रकाशको खोज पैदा भएको छ । जसको भित्र सत्य जान्ने तीव्र अभिलाषा जागेको छ । ओ शोकै शब्दमा भन्नुपर्दा जो भित्र सत्य पिउने अभिस्पा जन्म भएको छ त्यही व्यक्तिले गुरुलाई खोज्न सक्छ । त्यस्तो व्यक्ति नै शिष्य हुन सक्छ । शिष्यको अर्थ विद्यार्थी होइन । यदि कोही वास्तवमा शिष्य छ भने मात्र गुरु पाउन सक्छ । शिष्यको अर्थ हुन्छ कोही शिष्य चढाउन राजी हुन्छ । जो प्रार्थना सिक्न आउँदैन प्रार्थनामय हुन आउँछ । शिष्य त्यो हो जो गुरुको आभामंडलमा समाहित हुन् तयार हुन्छ । शिष्यमा बुद्धत्व उपलब्ध हुने सम्भावना हुन्छ ।
भनिन्छ, जब शिष्य तयार हुन्छ तब सद्गुरु प्रकट हुन्छ । गुरु त्यो हो जसले अन्धकारलाई अलग गरिदिन्छ । सद्गुरु ओशो भन्नुहुन्छ गुरुको अर्थ शिक्षक होइन । गुरुको अर्थ अध्यापक होइन । गुरुको अर्थ व्याख्याता होइन । आचार्य होइन । गुरु शब्दको कुनै पर्यायवाची शब्द नै छैन । गुरु शब्द नै अनौठो शब्द हो । गुरुलाई तब खोज्न सकिन्छ जब मान्छेभित्र प्रकाश खोज्ने आकांक्षा उम्लिन थाल्दछ । सद्गुरु जब यस धर्तीमा आउँछन् मान्छेहरूले चिन्न सक्दैनन् । सद्गुरुलाई नचिन्ने मात्र होइन मान्छेहरू विरोधमा उत्रन्छन् । विरोधमा मात्र उत्रने होइन मान्छेहरू सद्गुरुलाई हत्या गर्न उद्धत रहन्छ ।
असार पूर्णिमालाई किन गुरु पूर्णिमाको रूपमा मनाइयो भन्ने सन्दर्भमा महान् गुरु ओशोले अद्भुत विश्लेषण गर्नु भएको छ । असार पूर्णिमा बहुत अर्थपूर्ण छ । असार पूर्णिमालाई चुन्नेहरूले इसारा गरेका छन् । गुरु त पूर्णिमा जस्तो हुन्छ अनि शिष्य हुन्छ असार जस्तो । शिष्यहरू जन्मदेखिका अँध्यारो लिएर आएका हुन्छन् । काला बादलहरू लिएर आएका हुन्छन् । असारको मौसममा पनि गुरु चन्द्रमा जसरी चम्कन सक्छ । अँध्यारोले घेरिएको वातावरणमा पनि उज्यालो पैदा गर्न सक्ने नै गुरु हुन्छ । त्यस कारण असार पूर्णिमा छानिएको हो । त्यसमा गुरुतर्फ पनि इशारा छ अनि शिष्यतर्फ पनि ।
गुरुले शिष्यको अँध्यारोले घेरिएको हृदयमा प्रकाश पुर्याउनु छ । गुरुलाई चन्द्रमाको रूपमा प्रतीक दिइन्छ । मनीषीहरूले धेरै सोचेर चन्द्रमालाई गुरुको प्रतीक चुनेका हुन् । चन्द्रमामा पनि प्रकाश आफ्नो हुँदैन । प्रकाश त सूर्यको हुन्छ । गुरुसँग पनि प्रकाश आफ्नो होइन परमात्माको हो । त्यो केवल प्रतिफल हो । जसरी सूर्यतर्फ सिधा हेर्न मुस्किल हुन्छ त्यसै गरी परमात्मातर्फ सिधा हेर्न सकिँदैन । प्रकाश यति धेरै हुन्छ कि जसलाई सम्हाल्न सकिँदैन । गुरुले सूर्यजस्तो परमात्माको प्रकाशलाई चन्द्रमाले जसरी लिएर आउँछ अनि अँधेरी रातमा काला बादलले घेरिएका जस्ता शिष्यहरूलाई दिन्छ । चन्द्रमाले भयङ्कर अँध्यारो पनि जानेको छ अनि प्रकाश पनि जानेको छ । बिना गुरु परमात्मा खोज्न असम्भव हुन्छ । ओशोको दृष्टिमा यस कारण असार पूर्णिमालाई गुरु पूर्णिमा भनिएको हो । गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन गुरु पूर्णिमाको पावन अवसरमा सद्गुरु ओशो अनि सम्पूर्ण गुरुहरूप्रति हार्दिक नमन !