काठमाडाै-सय किलो सुन तस्करीमा संलग्न रहेको भनिएका दुई चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
बेइजिङ उड्न लागेका उनीहरूलाई आज बिहान पौने ६ बजे विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर सिआईबिलाई जिम्मा लगाएको छ । पक्राउ पर्नेमा लि जियालिन र ली फुयान छन् ।
हिमालयन एयरलाईन्सको एच ९६६५ नम्बरको उडानबाट उनीहरू चीन प्रस्तान गर्न लागेका थिए । उनीहरूले सवा ७ बजेको टिकट बुक गरेका थिए । यससँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्ने चिनियाँको संख्या तीन जना पुगेको छ । यसअघि ४ गते एक जना चिनियाँ पक्राउ परेका थिए । आज पक्राउ परेको दुई चिनियाँ यसअघि नै अध्यागमनको कालोसूचीमा थिए । कालोसूचीमा रहेका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सुन तस्करीमा आशंका गरिएका अझै सात जना चिनियाँ अध्यागमनको कालोसूचीमा छन् ।