काठमाडाै -काठमाडौं महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाउन छाडेको छ ।
आइतबार बिहानदेखि महानगरले सिंहदरबारभित्रका फोहोर उठाउन छाडेको हो । महानगरसँग अनुमति लिएर सिंहदरबारभित्र परिवर्तन सेवा नेपाल भन्ने निजी संस्थाले फोहोर उठाउँदै आएको छ । तर, उक्त संस्थाले आइतबारदेखि सिंहदरबारको फोहोर उठाउन छाडेको छ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले शनिबार सामाजिक सञ्जालमा सिंहदरबारको फोहोर नउठाउने स्टाटस लेखेका थिए । सोहीअनुसार परिवर्तन सेवा नेपालले फोहोर उठाउन छाडेको हो ।
सिंहदरबार क्षेत्र काठमाडौं महानगरपालिका–११ वडाभित्र पर्छ । मेयर साहको घोषणाबमोजिम वडा कार्यालयले पनि सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएको छ । महानगरका अनुसार सिंहदरबारभित्र कुहिने र नकुहिने गरी दैनिक सात टन (एक टिपर) फोहोर संकलन हुन्छ । यहाँबाट उठाएर फोहोर नयाँ ल्यान्डफिल साइट बन्चरेडाँडामै लगिन्छ । तर, फोहोर उठाउन कन्टेनर नगएपछि सिंहदरबारका ठाउँ–ठाउँमा फोहोर थुप्रिन थालेको छ । शुक्रबार गैरीगाउँस्थित बागमती करिडोरमा बनेका अवैध संरचना भत्काउन जाँदा गृह मन्त्रालय र सहरी विकास मन्त्रालयले असहयोग गरेको भन्दै मेयर साह आक्रोशित बनेका थिए । उनले अवैध संरचना भत्काउन जाँदा गृहसँग सुरक्षासमेत माग गरेका थिए । तर, गृहले सहयोग नगरेपछि उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।