काठमाडौँ - प्रहरीले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्याएर हमला गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीको साइबर ब्यूरोले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको हो। विभिन्न समयमा सेनाको साइबर स्पेशमा अनधिकृत हमला गरेको भन्दै सेनाले साइबर ब्यूरोलाई यसबारे पत्राचार गरेको थियो।
ढकाललाई बिहीबार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौरबाट पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को अपराधअन्तर्गत कसुरमा मुद्दा चलाइएको प्रहरीको भनाइ छ।
पक्राउ परेका ढकालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिएका छन् ।