साहित्यकार टंक वनेमद्वारा लिखित कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०६ दिन अगाडि
साहित्यकार टंक वनेमद्वारा लिखित कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण


काठमाडौं- साहित्यकार टंक वनेमद्वारा लिखित संस्मरणात्मक कृति ‘सुदूर विस्मृतिका बिम्बहरू’ लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा–पतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलाको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको कृतिमा लेखक वनेमले आफ्नो जन्म गाउँ ताप्लेजुङको मैवाखोलादेखि बेलयातसम्मका स्मृतिहरू लिपिबद्ध गरेका छन् । बाल्यकालदेखि अहिलेसम्म भोगेका कयौं अनुभूति समेटिएको कृतिमा लेखकले नेपाली भूगोल, कला, संस्कृति, धर्म परम्परा र रितिरिवाजलाई नजिकबाट नियाल्नु नै पुस्तकको विशेषता रहेको छ । 

जुनसुकै देशमा पुगेपनि बिस्मृतिमा पुग्न लागेका कयौं बिम्बहरूलाई स्मृतिमा फर्काउन लेखेकले गरेको प्रयास नै पाठकका लागि उपहार रहेको कार्यक्रमका वक्ताहरुको भनाइ थियो। त्यसमा पनि लिम्बु संस्कृति र त्यससँग जोडिएका अनेकन आयाम तथा प्रकृति र प्राकृतिक औषधिजन्य विषयमा समेत लेखकले गरेको खोज अनुसन्धान प्रशंसनिय रहेको छ । 

कृतिका लागि लागि लेखकको मिहनत र जीवनका अनुभूतिहरूको समग्र प्रस्तुतिले नयाँ पुस्तालाई समेत ज्ञान प्रदान गर्ने हुँदा हरेक पाठकले पुस्तक पढ्नु पर्नेमा उनीहरूको आग्रह थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि नेपाल प्रज्ञा–पतिष्ठानका पूर्व कुलपति  तथा वरिष्ठ कवि बैरागी काइँलाले कृतिमा लेखक वनेम एक ‘इको–राइटर’का रुपमा समेत स्थापित भएको बताए। उनले ग्रामिण परिवेशमात्र नभएर सिंगो वातारणमाथि न्यायिक कलम चलाउनु लेखकको सफलता भएको समेत दावी गरे । 

कार्यक्रममा बैरागी काइँलासहित उप प्राध्यापक तथा समालोचक डा. हरिप्रसाद सिलवाल, वरिष्ठ लेखक राजेश्वर थापा, दर्शनविद् डा. भक्त राई, वरिष्ठ लेखक तथा नेपाल प्रज्ञा प्रतिस्ठानमा पूर्व सदस्य–सचिव प्रा.जगतप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

यसअघि लेखक वनेमका कवितासंग्रह ‘साँघुरी र बुढासुब्बा’, ‘पेन्जिरि पेन्मिक्ह’, ‘सङ्गिनको मूच्र्छना’, कथासङ्ग्रह ‘श्लेष्मान्तकको सम्माङ र इतिहास र खोज तथा अुनसन्धानमा आधारित ‘सिन्धोलुङ फागो वनेम वंशावली इतिहास र मुन्धुम’ नामक पुस्तकहरू सार्वजनिक भइसकेका छन्।