काठमाडौं : प्रहरीले संकास्पद ढंगले दुबई हिँडेका ११ जना नेपालीलाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीले बुधबार साँझ उनीहरूलाई ३३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो। विमानस्थल प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्।
उनीहरू फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेका थिए। उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाइ रोमानिया र क्रोएसिया जान लागेका थिए।
विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा थिएन र उनीहरूको यात्रा संकास्पद देखिएकाले पक्राउ गरेको बताए । पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे,बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन, रौतहटका लक्ष्मीप्रसाद चिमोरिया, नुवाकोटका टेकारे तामाङ र रामभक्त थापा, धनकुटाका मरिचमान लिम्बू र सोलुखु्म्बुका दोर्जी तामाङ रहेका छन्।
पक्राउ परेका प्रत्येक व्यक्तिबाट ३ हजारका दरले कूल ३३ हजार अमेरिकी डलर बरामद भएको हो। उनीहरूको यात्रा संकास्पद देखिएको र डलरको समेत स्रोत नखुलेका कारण पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ।
ग्लोबल रिक्रूटमेन्ट मेनपावरबाट उनीहरूलाई दुबई पठाइएको थियो। बरामद रकम उक्त मेनपावर सञ्चालककै हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।