उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५२ दिन अगाडि
उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी

काठमाडौं - फिल्म प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

अदालत जानुअघि उनले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नु पर्ने माग राखेर उच्च अदालत पुगेका थिए ।

उनको रिटमा थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन् । चलचित्र निर्माण सुरुहुनुअघि नै पाण्डेलाई प्रसाद २ को निर्माताका रुपमा चिनाइएको थियो । तर अहिले चलचित्रको उनको नाम छैन ।

फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी  गरेको छ । र निर्माता थापा फरार छन् र उनलाई प्रहरीले खोजिरहेको छ ।