काठमाडौं - लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने सामान्य एकल अंकको वृद्धि भएको छ ।
आइतबार करिब २७ अंक र सोमबार करिब २५ अंकले गिरावट भएको नेप्से मंगलबार भने १.८५ अंकले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ०.०९ प्रतिशतले वृद्धि हुँदा १९५३.०६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित उत्पादनमुलक, व्यापार र लघुवित्त उपसूचकमा गिरावट हुँदा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्य मात्रै वृद्धि भएको छ । नेप्सेमा घट्दो क्रम रोकिए पनि कारोबार रकम भने सवा १ अर्ब नजिक आएको छ ।
मंगलबार नेप्सेमा २६ हजार ४७३ वटा कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोड ५९ लाखको कारोबार भएको छ । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक १० करोड ४८ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ४५ लाख र शिवम् सिमेन्टको ३ करोड १६ लाखको कारोबार भएको छ । मंगलबार बजारमा कुल २१४ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयरमूल्य बढेको छ भने ७८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीका सेयरमूल्य स्थिर देखिएको छ । मंगलबार कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशत र शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सुपर माइ हाइड्रोपावरको सेयरमूल्य ९.३२ प्रतिशतले वृद्धि भएको छ ।