राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देशाई नियुक्त

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३०५ दिन अगाडि
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देशाई नियुक्त

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मोन्टी देशाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । सोमबार क्यानले एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रुपमा देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो । देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए ।

क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो ।  मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्।