काठमाडौं -राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ ( क्यान)को आसन्न निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।
क्यान कार्यसमिति (बोर्ड) बैठकले बुधबार जेठ मसान्तभित्र जिल्ला, प्रदेशहुँदै केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसलाई फागुन १४–१५ मा सुर्खेतमा हुने वार्षिक साधारणसभामा पेश गरिनेछ । जेठ मसान्तभित्र केन्द्रीय निर्वाचन भए पारस कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैनन् ।
विधानको दफा २३ को उपधारा ३ (क)मा भनिएको छ, यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्यसमितिको निर्वाचन नुहुभन्दा अगावैको कम्तिमा दुई वर्षको अवधिमा भएका राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमितिको पदाधिकारी वा सदस्यका रुपमा निर्वाचित हुन सक्नेछ ।’ पारसले उनी २०७६ चैतदेखि नै राष्ट्रिय टिममा थिएनन् । २०७७ चैतसम्म उनले घरेलु क्रिकेट खेलेका थिए । उनले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । क्रिकेट संघले चार पर्षे कार्यकाल पुरा गरेर चुनाव गर्ने हो भने पारस उम्मेदवार हुन सक्नेछन् । तर आफ्नो कार्यकाल सकिनु चार महिना अगावै निर्वाचनमा जाने निर्णय गरेका कारण पारस त्यो प्रक्रियामा समावेश हुन नपाउने भएका हुन् ।
क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट संघको सदस्यता हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने उल्लेख छ । २०७६ असोज १२ गते निर्वाचित क्यान कार्यसमितिको पदावधि सकिन अझै नौ महिना बाँकी छ । क्यान विधानले अर्ली इलेक्सनको परिकल्पना नगरेको भएपनि बाधा अड्काउ फुकाउमार्फत चाडै निर्वाचन गर्न लागिएको अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् ।