एजेन्सी - राजकुमार ह्यारीको आत्मकथा ‘स्पेयर’ बेलायतमा सबैभन्दा छिटो बिक्री हुने नन–फिक्सन पुस्तक बनेको छ ।
१० जनवरीमा रिलिजको पहिलो दिनमा ४ लाख प्रति बिक्री भएको छ । यसमा प्रिन्टेड बुकका साथै इ–बुक र अडियो बुक पनि समावेश छ ।
यस पुस्तकमा बेलायती शाही परिवारका रहस्य र विवादहरू उल्लेख गरिएका छन् । राजकुमार ह्यारी इङ्गल्याण्डका राजा चार्ल्सका कान्छा छोरा हुन् । उनले २०२० मा आफ्नी पत्नी मेगनसँग शाही परिवार छोडेका थिए । अब उनले आफ्नो आत्मकथामा बाल्यकालदेखि राजपरिवार छोडेसम्मका घटनाक्रमको विस्तृत विवरण दिएका छन् ।
बेलायतको शाही परिवारको राज खुलासा गर्ने यस पुस्तकका धेरै अंश यसअघि नै मिडियामा बाहिरिएका छन् । त्यसैले यो किताब पढ्न मानिसहरु निकै उत्साहित छन् । मंगलबार, बेलायतका पुस्तक पसलहरू निर्धारित समयभन्दा अगाडि खुले र पुस्तक बिक्री सुरु भयो । दिनभर पुस्तक पसलमा मानिसको लामो लाइन देखिएको थियो ।
स्पेयरको मूल्य करिब ४५ सय रुपैयाँ थियो तर पुस्तक पसलमा आधा मूल्यमा बिक्री भइरहेको छ । यो करिब २८ सय रुपैयाँमा उपलब्ध छ ।
पुस्तकको प्रकाशक पेन्गुइन र्यान्डम हाउसका प्रबन्ध निर्देशक ल्यारी फिनलेले भने, ‘हामीलाई यो पुस्तक धेरै बिक्री हुने थाहा थियो, तर यति धेरै बिक्री होला भनेर कल्पना पनि गरेका थिएनौँ । हाम्रो जानकारी अनुसार, ह्यारी पोटरका पुस्तकहरू मात्र रिलीजको पहिलो दिनमा यति धेरै बिक्री भएका छन् ।’