प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३५ दिन अगाडि
प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

विराटनगर –  प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ ।

शनिबार साँझ शीर्ष नेताहरुबीच भएको छलफलमा एमालेले मुख्यमन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरुले बताए ।

प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका थिए । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।
एमालेले मुख्यमन्त्री लिने अनौपचारिक सहमति बनिसकेको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले बताएका छन् ।  नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार आइतबार ४ बजे दाबी पेश गर्ने तयारी छ । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा उनले दाबी पेश गर्नेछन् ।

९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ ।
प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन् ।