निहित स्वार्थका लागि अध्यादेश ल्याउन खोज्नु देश र जनताप्रतिको धोका - भीम रावल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६३ दिन अगाडि
निहित स्वार्थका लागि अध्यादेश ल्याउन खोज्नु देश र जनताप्रतिको धोका - भीम रावल

काठमाडाै‌ । नेकपा एमालेको नेता भीमबहादुर रावलले गठबन्धन सरकारले निहित स्वार्थका लागि अध्यादेश ल्याउन खोज्नु देश र जनताप्रतिको धोका भएको बताएका छन् ।

सोमवार सामाजिक सञ्जालमा सन्देश लेख्दै नेता रावलले प्रधानमन्त्री देउवाको विगत पनि राम्रो नभएको उल्लेख गरेका छन् ।  रावलले देउवाले प्रधानमन्त्री पदकै लागि सांसदहरूलाई सुरा–सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रिमण्डल बनाएको भनी आलोचना भएको स्मरण गरेका छन् । उनले लेखेका छन्, ‘विगतमा प्रमं पदकै लागि सांसदलाई सुरा–सुन्दरी र बैंकक भ्रमणको आहालमा डुबाएको र जम्बो मन्त्रिमण्डल बनाएको भनी शेर बहादुर देउवाको व्यापक विरोध भएको विर्से झैं गरी चुनाव पछि अर्को सरकार बन्नुपर्ने बेला निहित स्वार्थमा अध्यादेश ल्याउन खोज्नु गठबन्धन सरकारको देश र जनता प्रतिको धोका हो ।’

सरकारले टिकापुर घटनामा जोडिएका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । चौधरीको पार्टीको साथ लिई नयाँ सरकार बनाउनका लागि गठबन्धनले अध्यादेश ल्याएकाे हाे ।  नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभातर्फ ३ सिट जितेको छ । रेशमका बुबाले पनि स्वतन्त्र उम्मेदवार भई जितेका छन् । उक्त सिटसमेत जोड्दा नागरिक उन्मुक्तिसँग ४ सिट पुग्ने छ ।